Monday, November 24, 2008

माओवादी हिन्सा त्यागेको घोषणा गर


राणा कालमा नेपाली कांग्रेस स्थापना भएदेखी र त्यस भन्दा पहिले नै कतिपय ब्यक्तिगत र कतिपय साना तिना संगठन मिलेर उनिहरु बिरुद्ध बिरोध सुरु भएको थियो । त्यस्पछी कांग्रेस ले २००७ सालमा सशस्त्र संघर्श सुरु गर्‍यो । प्रजातन्त्रको स्थापना भएपछी कांग्रेस भित्रको आन्तरिक कलह गहिरिन पुग्यो । फल्स्वरुप न संबिधान बन्यो न देशमा बिकासको कुनै जग नै बस्न सक्यो । सत्ताका खेल र नेताका झेलले अर्ध चेतनामा रहेका जनतालाई न आकर्शित गर्न सक्यो न त भबिस्यमा हुन सक्ने कुनै प्रतिगामी कदमको बिरोधको लागि तयार । त्यसैको फल्स्वरुप १७ सालको काण्ड घट्यो । कांग्रेस र कम्युनिष्ट आआफ्नै ढंगले लग्भग ३० बर्ष पञ्चायत बिरुद्ध लडे । घ्रिणा, हिन्सा र बिरोध एउटा मुल मन्त्र नै बन्यो नेपाली राजनीतिमा । बिरोधिको बिरोध गर्नै पर्ने र त्यस्लाई जसरी पनि सत्ताच्युत गर्नै पर्ने एउटा गलत सन्स्कार बस्यो । त्यो बिरोधको सन्स्कारलाई २०५२ देखी माओवादीले संगठित हिन्सामा परीणत गरे ।

वास्तवमा हिन्सा जती नै राम्रो उद्देश्य र परिणामका लागि गरिएपनी त्यो समाज र राष्ट्रको लागि घातक नै हुन्छ । बिरोधको र सत्ता प्राप्तिको सैली बोली, जनपरिचालन र शान्तिपूर्ण हुँदा त्यस्ले जती राज्य सत्ता बिरुद्ध दबाब पार्न सक्छ त्यो हतियारले हुँदैन । त्यस्को उदाहरण हेर्न नेपाल काफी छ । माओवादीले गाउमा जती त्रास फैलाएपनी, जती पकड जमाएको दाबी गरेपनी वास्तवमा राजतन्त्रको अन्त्य शान्तिपूर्ण जन आन्दोलनले नै भएको हो भन्नेमा शायदै कसैलाई भ्रम होला । १३००० भन्दा बढी मान्छे मर्दा उत्पन्न नभएको भुकम्प १९ दिने शान्तिपूर्ण जनान्दोलनले पैदा गरिदिएको थियो । फल्स्वरुप अढाइ सय बर्ष पुरानो राजतन्त्र नेपाली राजनीति बाट बिलाएको हो । माओवादीले अझै १० बर्षमा पनि नेपालमा गणतन्त्र स्थापना गर्न सक्ने थिएनन् । यो घाम जत्तिकै छर्लङग छ ।


तर माओवादीको सिको गरेर नेपालमा दर्जनौ हतियारको राजनीति गर्ने संगठनहरु खुलेका छन् । तराइ नरक नै भईसक्यो । त्यहा राज्यको नियन्त्रण त छैन नै आम जनता पनि अनगिन्ती संगठनका मारमा परेका छन् । सबै समस्याको समाधान हतियार बोकेरै हुन्छ भन्ने भावना नेपालीमा बिकास भईसकेको छ । दशकौ सम्म नेपालमा जनता बिच राजनीति गरिरहेका पार्टीहरुको भन्दा संबिधान सभा निर्वाचन भन्दा केही महिना अघी दर्ता भएका पार्टीहरुको बढी सिट संबिधान सभामा आउनुले त्यसलाई प्रमाणित गर्दछ । कस्ले चर्को बोल्ने, कस्ले बढी हान्ने र कस्ले बढी बन्द, हड्ताल , हत्या र आतंक श्रीजना गर्ने भन्ने मापदन्डकै आधारमा पार्टीको साइज निर्धारण भएको छ । त्यसैले देश अहिले हिन्सा र आतंकको नराम्रो जालोमा फसेको छ । अर्काको अस्तित्व समाप्त नगरेसम्म आफ्नो अस्तित्व नदेख्ने अनौठो जङगली र मध्ययुगिन सोच बिकास भएको छ । देश कसैको नियन्त्रणमा छैन । लाग्छ अब देश कसैले बचाउन सक्दैन ।

तर समस्या सँगै समाधान पनि छ । माओवादी सुध्रे भने धेरै सुध्रिन्छ । वाइसियल सुध्रे युथ फोर्स सुध्रिन्छ । यतिबेला माओवादीले हिन्सा परीत्याग गरेको घोषणा गर्नु पर्दछ । आफ्ना उदण्ड कार्यकर्ता र हत्यारा वाइ सि यल सदस्यलाई कानुनी कारबाही गर्न सक्नु पर्दछ । राज्यको सबै डाडु पनियो आफ्नै हातमा हुँदा पनि समानान्तर सरकार, न्याय र सुरक्षाको काम गर्ने अर्को निकाय खडा गर्नु कानुनी राज्यको उपहास हो । हत्या र हिन्साले कसैलाई फाईदा गर्दैन भन्ने बुझ्न अब माओवादीले ढिलो गर्न हुन्न । जती ढिलो हुन्छ देश त जान्छ जान्छ माओवादी पनि सँगै जानेछन् । आखिर देश रहे न पार्टी रहन्छन् । देशै नरहे के को पार्टी ? के को वाइसियल ? के को माओवादी ? पहिले हतियारले राज्यलाई राजधानी केन्द्रित बनाउने माओवादी आँफै राजधानी केन्द्रित हुन अब धेरै दिन कुर्न शायद नपर्ला । हतियारले टिकेको सत्तालाई हतियारले नै ढाल्नु पर्छ भन्ने मुल मन्त्र अरुले पनि सिकेर संगठित रुपमै माओवादी बिरुद्ध बिद्रोह हुनु अघी नै आज सम्मका हत्या र हिन्साको लागि माफि माग्दै आइन्दा कुनै खाले हिन्सा नदोहोर्याउने प्रतिबद्दता गर्नै पर्दछ । त्यो भन्दा उत्तम बिकल्प बिबादमा अल्झिरहेको माओवादीलाई केही पनि छैन ।

No comments:

Post a Comment