Tuesday, December 16, 2008

निद्रा कुर्दाकुर्दै मनमा उठेका भावहरु

घडीले रातिको १२ बजेको जनाउ दियो । घण्टा र मिनटको सुइ एकै ठाउमा खप्टिएर बसेका छन् । आज शनिबार काम बाट अली छिटो फर्केको थिए सात बजेतिर । खाना पकाउने, खाने काम लग्भग १० बजे सिद्दिएपछी मेरो नित्यकर्म कम्प्युटरको प्रयोगमा लागे । समाचार, बिचार , गीत, संगीत, हास्य टेली सिरिएल, म्युजिक भिडियो, फोटो आदी हेर्दा हेर्दै १२ बज्न धेरै बेर लागे जस्तो लागेन । निमेश भरमै बज्यो । अब त सुत्नु पर्छ । सुसाङ्ख्य (कम्प्युटर) लाई बन्द (टर्न अफ ) गरे । कम्प्युटर बन्द गरे पनि मेरो मनको ढोका बन्द भएन । मेरो मनमा थुप्रै कुराहरु नाचिरहे । मेरो मनले केही क्षणमै ३६० डिग्री को चक्कर लगायो । कला, राजनीति, समाज र विश्वको बारेमा धेरै सोच्यो । निद्रा लाग्ने छाटै थिएन । निद्रा देवी शायद कतै भुले जस्तो लाग्यो । निद्रा देवीको अनुपस्थितिमा मैले मेरो मनलाई नियन्त्रण गर्न सकिन । यो बेलगाम उडिरह्यो, भौतारीइरह्यो । अस्ती मात्र हिल बर्ड स्कुलको बस दुर्घटनामा पर्‍यो । त्यस्मा सवार २३ जना कलीला विद्यार्थी र उर्बर शिक्षकले मृत्‍यु बरण गरे । सोचे कस्तो बिडम्बना ! बिहान बाइ बाइ भन्दै बिदा भएका ति अबोध बालक हरु एउटा जड्याहा ड्राइभरको सिकार बने र सधैंको लागि बाइ बाइ गर्दै भगवानका प्यारा बने । आँखाबाट दुई थोपा आशु कल्पनामा झरे । ति आसु ति म्रित आत्माहरुको सम्झनामा समर्पण गरे । आफ्ना भबिस्यका आशाका केन्द्रहरुको बिछोडमा भाव बिब्हल बनेका आफन्तहरुको नाममा पनि अर्को दुई थोपा आशु चढाए । रितेश र आशिसको हत्या भएको केही दिन बित्न नपाउदै र आफन्तहरु र सम्बेदनशील नेपालीहरुको आँखाको आशु नरोक्किदै फेरी आशुका भेल बगे । कस्तो नियती हाम्रो ? के हामी अब सधैं आफन्त र इस्टमित्रहरुको सम्झनामा आशु बगाइ रहनु पर्ने हो ? कही हत्या र कही दुर्घटनामा हामी आफन्त गुमाउदै रुदै गरी रहनु पर्ने हो ? मन भित्र यस्ता अनेकौ प्रश्न ओइरिए । तर मन भित्र पनि यस्को समाधान भेटाउन सकिन । निरास बन्दै निदाउन प्रयास गरी रहे ।
फेरी मन राजनिति तिर सोझियो । शान्ती मन्त्री जनार्दन शर्मा तराइका शशस्त्र समुह सँग बार्ता गर्दै छन् । कथित भाईरस किलर्स सँग त बार्ता पनि गरी सके । जनतान्त्रिक मुक्ती मोर्चा सँग बार्ता गर्दैछन् भन्ने हल्ला सुने, पढे । राम्रै लाग्यो । अब कतै शान्ती हुन्छ कि ? मनमा आशा जाग्यो । एक मधेस एक प्रदेश भनेर नारा उचाल्नेहरु त्यो असम्भव भएको किन महसुस गर्दैनन् ? नेपाल बिबिध भौगोलिक अवस्था, भिन्न भिन्न जातीको मिस्रित बसोबासले जातीको आधारमा संघ निर्माण गर्न सम्भब छैन भन्ने बुझेर पनि कथित स्वार्थ पुर्तिको लागि जनता झुक्याउन आफ्नै डम्फु बजाउन छोडेका छैनन् । पहाड, तराइ र हिमाल नेपालको पहिचान भन्ने भुलेर क्षत्रिय र जातिय राजनीति गर्दै देशलाई खाल्डोमा हाल्न बिदेशिको ईशारामा केही तराइका नेता भनाउदा हरु लागेका छन् । त्यो सम्झेर दिक्क लाग्यो । महन्थ ठाकुर जस्ता नेता समेत जातिय र छेत्रीय नारामा बहकिएको देखेर उदेक लाग्यो । खोइ कहिले सम्म लाग्छ यिनिहरुको घैटोमा घाम ? डर लाग्यो घैटोमा घाम लाग्नु भन्दा पहिले नै मेरो देश बर्बाद हुने हो कि ? बेलैमा बुझिदिए हुन्थ्यो । पशुपतिनाथले सबैलाई बुद्धी दिए हुन्थ्यो ।
निद्रा नलागेर तड्पिरहेको मनमा राजनीतिका कुराले अझै अधैर्य बनाउछ । दिमागमा सद्दामका जस्ता जुङ्गा भएका प्रचन्डको तस्बिर टुप्लुक्क आइपुग्छ । कृपया मेरो दिमागबाट हटिहाल्नुस् प्रचन्ड जि, आग्रह गर्छु तर उनी मान्दै मान्दैनन् । उनी जबर्जस्ती मेरो दिमाग वारीपरी आउछन् । सम्झन्छु केही समय अघी सम्म उनको कत्रो सान थियो । चमत्कारीक रुपमा सत्तामा आए पछी सुरु सुरुमा "चमत्कार" का निकै कुरा गर्थे उनी । म मात्र होइन अन्य धेरै मान्छेहरु प्रचन्डले केही गर्छ भन्थे । टाउकोको मुल्य तोकिएको माछे सरकार प्रमुख हुनु वास्तवमै चमत्कार थियो । सोझा र सरल अनी स्पस्टबादी प्रचन्ड वास्तवमा नेपाली जनताका आशा र भरोशाका अन्तिम केन्द्र थिए । बाख्रा चराउने गोठालो देखी जनयुद्दको नायक र देशकै सर्बसक्तिमान प्रधानमन्त्री सम्म हुँदा पनि प्रचन्डमा त्यो सरलता र जनता प्रतिको इमान्दारितामा कुनै कमी थिएन । कतिमा धेरै र कतिमा थोरै आशा अझै पनि बाँकी छ । तर दुई चार दिन यताका उनका अभिब्यक्ती त्यती आशाजनक रहेनन् । आफ्नै पार्टी भित्रकालाई ठेगान लगाउन हो वा कुन्नी किन उनी सत्ता छोड्ने र बिद्रोहमा उत्रिने जस्ता गैर जिम्मेवार भाषा प्रयोग गर्न थालेका छन् । सेना र प्रसासन अनी सम्पूर्ण डाडु पनियो आफ्नै हातमा हुँदा पनि अब को सँग र केका लागि बिद्रोह ? केही गर्न नसक्ने तर दोश चाँही अरुलाई दिने किन हो ? यो त अली भएन नि प्रचन्ड जि । बोल्दा बिचार पुर्‍याउनु पर्‍यो । गिरिजा बुढा पनी यती बर्बराउन्नन् ।
कोल्टे फेर्छु । निद्रा कतै छैन । फेरी अर्का नेताको चित्र दिमागमा आयो । भो यिनको बारेमा म सोच्दिन, बिर्सिन र बिषय बदल्न प्रयास गर्छु । तर त्यो लामो नाक, अग्लो शरीर र बुढो मान्छेको तस्बिरले मलाई गिज्याइरहन्छ । उनका हालैका आमसभामा बोलेका कुराले हासो उठाउछ । कांग्रेस जे भन्छ त्यो गर्छ, जे गर्छ त्यो भन्छ भनेर भनेको याद आउछ । साच्ची कांग्रेसले त्यसै गर्छ त ? २०४८ सालको निर्वाचन घोषणापत्र हेरौ त कांग्रेस ले के भनेको छ ? गास, बास र कपास सबै लाई पुर्याउने भनेको छ । बिपी कोइरालाको प्रजातान्त्रिक समाजवाद लागु गर्ने भनेको छ । सानो घर र एउटा लैनो भैंसी हरेक नेपाली सँग होस् भनी परीकल्पना गरेको छ । तर के गर्नु भयो गिरिजाबाबुले ? कांग्रेसले आफ्नो घोषणापत्र र आफ्नो आदर्श सिद्दान्तमा समाबेश गरेका तिनै कुरालाई पक्डेर माओवादीले २०५२ साल्मा जनयुद्द सुरु गरे । बहुदलकाल गिरिजाबाबुको प्रधानमन्त्री बन्ने धोको पुरा गर्ने ब्यबस्था भन्दा खासै केही भएन । खाली प्रचन्डले सहमती तोडे भन्दै बर्बराउदै हिड्छन् बुढा । सहमती के थियो अहिले सम्म कसैलाई थाहा छैन । गिरिजाबाबुलाई सधैं प्रधानमन्त्रीको पद दिए मात्र सहमती हुने नत्र नहुने कस्तो मापदण्ड हो ? म बाट हामीमा गिरिजा अझै पनि पुग्न सकेका छैनन् । प्रजातन्त्रको लागि कहिल्यै सम्झौता गर्दिन भन्छन् । अन्य पार्टी नेताहरुको त कुरै छोडौ पार्टीलाई पनि आफ्नै पेवा ठान्छन् यि बुढा । धेरै गाली नगरौ ईतिहासले नै मुल्याङ्कन गर्ला ।
अब त अत्ती भो । निदाउनै पर्छ । केही पनि सोच्दिन । खाली ॐ भन्छु । ॐ ॐ ॐ । दिमागमा रहेका सारा कुरा निकाल्न प्रयास गर्छु । ॐ नम सिवाय: ॐ नम सिवाय: ॐ नम सिवाय: निद्रा देवी टुप्लुक्क देखा पर्छिन् । बिस्तारै म निद्रा देवीको शरणमा पुग्छु ।

No comments:

Post a Comment