Wednesday, November 19, 2008

जीवनको अन्तिम सत्य र हाम्रा कर्महरु

-Lekh Nath Gatuam
मानिस जन्मे पछी मर्छ । यो ध्रुब सत्य कुरा हो । यस्लाई कुनै नियम वा बिधिले रोक्न सक्दैन । मानिस जङगली अवस्थाबाट बिकास हुँदै बर्तमान अवस्थासम्म आइपुग्दा उसका चाहना, बाध्यता र परिस्थिती पूर्ण रुपमा बदलिएको छ । जती जती समाज आधुनिक हुँदैछ त्यती त्यती मानिस स्वार्थी र एकलकाटे बन्दैछ । आफ्ना असिमित चाहना पुरा गर्न जुनसुकै मार्ग अपनाउन तयार छ । आफ्नो इक्ष्या पुर्तिको लागि अर्काको गला रेट्न कुनै अफ्ठ्यारो मान्दैन । दाजुभाइ, इस्टमित्र र सामाजिक बन्धनहरु उसको लागि फगत स्वार्थ पुर्तीको भर्र्याङ् बन्दछन् । एकदिन मर्नु नै पर्छ भन्ने कठोर सत्यलाई आत्मसात नगरि सदा अमर रहन्छु झै गरी कुकर्ममा लिप्त भइरहन्छ ।
संसारभरिको यो द्रब्य होड आधुनिक संसारमा उपलब्ध भएका अनेकौ सामाग्रीहरु र तिनिहरुको उपयोग गर्ने तिब्र आकान्क्ष्याको प्रतिफल हो । संसार घुम्ने देख्ने, बहुमुल्य बस्तुहरु प्रयोग गर्ने चाहना र प्राय पैसा भएमा सबै चिज प्राप्त गर्न सकिने परिस्थिती पनी यि याबत मानबिय कुकर्महरुको कारण हो । मान्छे जब मृत्‍यु सैयामा छट्पटाउछ उसले जिबनको अर्थ थाहा पाउछ तर त्यती बेला ढिला भइसकेको हुन्छ । जिन्दगी भर जीवनको अर्थ नखोजी संसारिक जीवनको क्ष्यणिक खुशीको लागि आफुले गरेका कुकर्महरुले उसलाई पोल्न थाल्छन् । आफ्नो निहित स्वार्थ पुर्तिको लागि आफ्ना इस्ट मित्र, बन्धु बान्धब र सम्बद्द सबैलाई प्रयोग गर्दै, उपयोगीता सिद्दिएपछी लात हान्दै गरेको झल्झल्ती याद आउछ जस्ले उस्लाई पोल्छ र नरकको अनुभुती गराउछ ।
कस्तो आयो जमाना यहाँ हेर मानवको बस्तिमा मानिस भुल्न थाल्यो दुनियाँमा अमृत छाडी रक्सिमा ।नातागोता इस्टमित्र दाजु भाई लत्याउछन् है किन चाहिन्छ सबथोक यहाँ सबैलाई चाहे काढेर होस् रिन ।।
घुम्छन् दिनभर बजारमा यहाँ केही पाईन्छकी भनेर चाहेको चिज लिनै पर्दछ फेरी सबै आफ्नै ठानेर । घ्रिणा, लोभ द्वेश अनी क्रोध गहनामा गनिन्छ सारा पाप गरी धन कमाए पनि इज्जत त्यस्को मानिन्छ ।।
पैसाको लागि मानिस हेर यहाँ मारामार गर्दछन् इमान के हो हराइगयो दुनियाँमा धनकै लागि लड्दछन् । आफ्नो अर्को कोही छैन यहाँ द्रब्य बाहेक संसारमा लक्ष्य केही छैन जीवनको पनि बिते दिन बेकारमा ।।
हे मानव छोडिदेउ ब्यभिचार तिमीले सत्मार्गमा लागिदेउ बन्धुत्व मानवता अनी भाईचारा बाटो असल हो ठानिदेउ । तिम्रो जन्म किन भयो दुनियाँमा सोचेर बिचार गर सेवा गरी दिन दुखि जनको भवसागर पार गर ।।
त्यसैले हामी सबैले आज मेवाको लागि होइन निस्वार्थ सेवा गर्ने प्रण गरौ । द्रब्य सङ्कलन मात्र जीवनको लक्ष्य होइन भन्ने बुझौ । तेरो र मेरो भन्दै आफ्नो स्वार्थ पुरा गर्न जे पनि गर्ने बानी त्यागौ । अन्तिम सत्य मृत्‍यु हो भन्ने कुरा आत्मसात गरौ । अनी मात्र हाम्रो यो जीवन यात्रा सजिलो र कल्याणकारी हुनेछ । अनी मात्र हामी मृत्‍यु पर्यन्त संसारमा जिवित रहनेछौ ।

No comments:

Post a Comment